किरियापुत्री, सुत्केरी, दृष्टिविहिन र थुनुवा पनि एसएलसीमा सहभागी
काठमाडौ,चैत्र १२
पाल्पा-यसवर्षको एसएलसी परीक्षामा किरियापुत्री, सुत्केरी दृष्टिविहिन र थुनुवा समेत सहभागी भएका छन् ।जनकल्याण उच्च मावि हुंगी पाल्पाको परीक्षा केन्द्रवाट एक जना किरयापुत्रीले परीक्षा दिएका छन् । साना हुंगी माविका विद्यार्थी हुमबहादुर सारु आफ्नो बुबाको मृत्यू भएको ५ दिनका दिन परीक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । उनी नियमित तर्फका विद्यार्थी हुन् ।
त्रिभुवन उच्च मावि अर्गली परीक्षा केन्द्रबाट १० दिनकी सुत्केरीले परीक्षा दिएकी छिन् । अर्गली-१ घर भएकी लक्ष्मी श्रेष्ठले नियमित तर्फको एसएलसी परीक्षा दिएकी हुन् ।
जिल्लाकै दमकडा उच्च माविबाट चारजना दृष्टिविहिनले परीक्षा दिएका छन् । यस्तै लागुऔषध मुद्धामा थुनुवा भएका प्रल्हाद वेल्वासेलाई सेन उच्च मावि केन्द्रबाट परीक्षा दिलाईएको छ । यसैगरी खुल्ला तर्फ ५६ जना र प्राईभेट २ सय ४ जना एसएलसीमा सहभागी भएका छन् ।
पाल्पामा ४ हजार ८ सय ९० नियमित र १ हजार ७६ एक्जाम्टेडका विद्यार्थी सहभागी छन् । परीक्षालाई मर्यादित बनाउन विभिन्न विद्यालयका प्रधानाध्यापक, प्राचार्य र शिक्षक परीक्षा केन्द्र आसपास गएको पाईएमा कारवाही गरिने शिक्षा अधिकारी विष्णुबहादुर द्वारेले बताए । उनका अनुसार विहीबार र शुक्रवारको परीक्षा शान्तिपूर्वक र मर्यादित रुपमा संचालन भएको छ । परीक्षा केन्द्रमा अभिभावक र चिटचोराउनेको संख्या शुन्यजस्तै भएको उनले बताए ।
जिल्लाका २२ केन्द्रको परीक्षा संचालन गर्न २२ जना केन्द्राध्यक्ष, २६ जना सहायक केन्द्राध्यक्ष, २ सय ३८ जना निरीक्षक, ७५ जना कार्यालय सहयोगी र २ सय २० जना प्रहरी परिचालन गरिएको छ । विद्यार्थीलाई ड्रेसमा आउन भनिएको, अस्वभाविक नलगाउन, छात्रालाई सल नओड्न अनुरोध गरिएको छ ।
केन्द्राध्यक्षमा भागवण्डा
एसएलसी परीक्षाका लागि पाल्पामा राजनीतिक आधारमा केन्द्राध्यक्ष भागवण्डा गरिएको छ । तर, शिक्षक यूनियनका अध्यक्ष भने भागवण्डा भएको भन्न नमिल्ने बताउछन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित परीक्षा समन्वय समितिले एमाले, कांग्रेस र माओवादीलाई केन्द्राध्यक्ष भागवण्डा गरेका हुन् ।
एमाले, कांग्रेस र माओवादी निकट शिक्षकका संघसंस्थालाई सात/सात जना केन्द्राध्यक्ष भाग विलो लगाइएको छ भने प्याव्सनलाई एक जना केन्द्राध्यक्ष दिइएको छ । राप्रपाको विचार बोक्ने संगठनले भने एक जना पनि केन्द्राध्यक्ष पाएका छैनन् । राजनीतिक विचारका आधारमा चल्ने शिक्षक संघ, संगठन र अखिल नेपाल शिक्षक संगठनको सुझावको आधारमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षको नियूक्ति गरिएको यूनियनका अध्यक्ष बस्यालले बताए । 'राजनीतिक आधारमा भागवण्डा गरेको होईन' यूनियन अध्यक्ष बस्यालले भने, 'पेशागत संगठनको सल्लाह अनुसार गरेको हो ।' उनले राजनीतिक दलले तोक्ने र हस्तक्षेप गर्ने नगरेको बताए । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें