|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

रिडी मेलामा घरेलु सामग्रीको बिक्री घट्यो

गुल्मी, माघ ४-घनश्याम गौतम
धार्मिकसँगै शनिबारदेखि सुरु भएको घरेलु सामग्रीको किनबेचका लागि प्रख्यात यहाँको रिडी मेलामा यस वर्ष सामग्री बिक्री नभएको व्यापारीहरूले गुनासो गरेका छन् ।गत वर्षहरूको तुलनामा मेलाको दोस्रो दिनसम्ममा सामग्रीहरू १० प्रतिशत पनि बिक्री नभएको व्यापारीहरूले बताए ।
गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रूरू क्षेत्रको रिडी मेला धार्मिक महत्त्वसँगै हिमाली भेगमा भेंडाको उनबाट एक वर्षसम्म हातैले बुनेर तयार पारिएका राडी, पाखी, काम्ला, तथा बाँसका सुपा, डाली, सोली, ओखरको घाँजी, गुँड र कन्दमूलहरूको व्यापारका लागि प्रख्यात मानिन्छ तर पछिल्ला वर्षहरूमा पाल्पा, बुटवल, भैरहवा लगायतका स्थानबाट आउने प्लास्टिकका सामग्री र व्यापारीहरूका कारण व्यापार कम हुँदै गएको हाते सामग्रीका व्यापारीहरूको गुनासो छ ।
रिडी मेलामा बागलुङको रिघा, जलजला, दगाटुंडाँडाँ, पाण्डुखानी एवं रुकुमको तकसेरा, रुकुमगाउँ, राकमकोट लगायतका स्थानबाट घरेलु सामग्रीहरू बिक्रीका लागि एक हप्तासम्म पैदल हिंडेर उत्पादनकर्ताहरू आफै आउने गर्दछन् । यस्ता घरेलु सामग्रीहरू एक वर्षसम्म बुनेर राख्ने र रिडी मेलामा बिक्रीका लागि ल्याउने उनीहरू बताउँछन् ।
रुकुमको तकसेराबाट पाँच दिनको पैदल हिंडाइपछि राडी, पाखी बेच्न रिडी आएका रेखबहादुर बुढामगरले यस वर्ष अघिल्ला वर्षहरूमा भन्दा राडी, पाखी किन्ने मान्छेहरू निकै कम आएको बताए ।
'पोहोरसाल थुप्रै बिक्री भएको थियो', उनले भने 'अहिले भने २२ वटा ल्याएकामा १७ वटा बाँकी नै छन् ।' सवारी साधनमा राखेर आउँदा जाँदा धेरै खर्च लाग्ने भन्दै व्यापारीहरू पिठ्युँमै भारी बोकेर बिक्रीका लागि आउने गर्दछन् । रिडीको बगरमै खाना पकाएर खाने र बगरमै सुत्ने उनीहरूले खाना पकाउने भाँडादेखि आगो बाल्ने दाउरासमेत साथैमा लिएर आउने गर्दछन् ।त्यस्तै बागलुङको जलजलाबाट डाली, सुपा बेच्न आएका पूर्णबहादुर थापाले पनि गत वर्ष ल्याएका सबै सकिएकोमा यस वर्ष मेलाको दोस्रो दिनसम्ममा पनि एक दर्जन मात्र बिक्री भएको बताए । ग्राहकहरूले भने गत वर्षहरूको तुलनामा यस वर्ष राडी, पाखी, डालीहरूको मूल्य निकै धेरै भएको बताए । थानपति गाविसबाट पाखी किन्नकै लागि रिडी आएकी सुनिता ज्ञवालीले राडी र काम्लोको मूल्य निकै बढी भएको बताइन् । 'गत वर्ष ८ सय रुपैयाँमा किनेको काम्लोको मूल्य यस वर्ष १ हजार २ सय रुपैयाँ पर्‍यो', उनले भनिन् । गत वर्षहरूमा भेंडाको ऊनबाट हातैले तयार पारिएका काम्ला, राडी, पाखी ५ सय देखि ८ सय र डाली, सुपा लगायत बाँसका सामग्रीको ४५ रुपैयाँदेखि ४ सय सम्ममा बिक्री हुन्थे ।

गत वर्षहरू घरेलु सामग्रीको बिक्री बढी भएका कारण यस वर्ष रुकुम र बागलुङबाट यस्ता व्यापारीसमेत धेरै आएका छन् । 'गत वर्ष राडी, काम्लोको माग बढी भएकाले यस वर्ष हामी १ सयभन्दा बढी आएका छौं', व्यापारी कुसुम बुढाले भने, 'तर, सामग्री केही बिक्री भएका छैनन् ।'
पहाडी क्षेत्रमा भंेडाको ऊन निकाल्न छाडेकाले सामग्रीको पनि मूल्य बढेको उनको दाबी थियो । 'भेंडाको ऊन काट्नै छाडियो', उनले भने 'उन काट्ने र बुन्नेहरू पनि अहिले गाउँमा धेरै छैनन् ।' पछिल्लो समयहरूमा युवाहरूले यस्ता काम गर्न छोडेको उनले बताए । रिडी मेलामा यस्ता सामग्रीहरूको बिक्रीबाट एक व्यापारीले २० देखि ४० हजारसम्म आम्दानी गर्ने गर्दछन् । जेठी, माइली र कान्छी गरी तीन दिनसम्म मनाइने यस मेलामा यस वर्ष लुम्बिनी अञ्चलसँगै भारतका विभिन्न स्थानहरूबाट समेत तीर्थालुहरू रिडीमा आएको मेला व्यवस्थापन समितिका अध्यक्ष बोधराज आचार्यले बताए । 'तैपनि गत वर्षभन्दा यो वर्ष कम छन्', उनले भने ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस