माघे सङ्क्रान्ति पर्व आज/माघीको शुभकामना
माघ १- माघे सङ्क्रान्ति पर्व आज मुलुकभर विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नाका साथै घ्यू-चाकु, तिलको लड्डु र तरुल खाई मनाइँदैछ ।ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर सङ्क्रान्ति’ भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।यस पर्वमा नेपालका देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गङ्गासागरलगायतका नदी तथा त्रिवेणीमा स्नान, दान, तर्पण-श्राद्धलगायतका कार्य गर्नेहरूको ठूलो भिड लाग्छ ।लड्डु तथा घ्यू-चाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यो-चाकु सँल्हु’ भनिन्छ ।
भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यो दिन स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी होइने उल्लेख छ ।आयुर्वेद र चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायतका तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख गरिएको छ ।शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।यसैदिन भक्तपुरको टौमढीटोलमा तिलमाधवनारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गर्ने गरिन्छ ।
थारु समुदायमा यो पर्व ‘माघी’ पर्वका रूपमा बडो उत्साहका साथ मनाइने चलन छ । आजका दिन यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडीे, तिलको लड्डु, केराको तरुवा, खरिया, मुसाको मासु, गङ्टाको चटनी आदि बनाई खाने-खुवाउने तथा आफ्नो मौलिक पहिचान झल्काउने भेषभुषामा झर्रा, बडोनाच, बर्कानाच, मघौटा, रागनी, झुम्रा, धुमरा नाचगान गरी मनाउने प्रचलन रहेको छ ।
यसै अवसरमा थारु समुदायले राजधानीमा तीनदिने माघीमेलाको आयोजना गरेको छ । मेलामा थारु समुदायको संस्कृति, भेषभुषा, नाचगान तथा खानाका परिकारहरु प्रदर्शनका लागि राखिने मेला आयोजकले बताएका छन् ।
सोही अवसरमा राष्ट्रपति डा. रामवरण यादवले थारु समुदायको नयाँ वर्ष माघी पर्व तथा माघे सङ्क्रान्तिका अवसरमा आज एक सन्देश दिँँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति डा. यादवले सन्देशमा यो पर्व नेपालीको धार्मिक र सांस्कृतिक एकताको पर्वको रुपमा निरन्तर रही रहन सकोस् भन्नुभएको छ ।
उहाँले सन्देशमा थारु समुदायमा विशेषरुपमा मनाइने यस माघी पर्वलाई देशका विभिन्न जातजाति तथा धर्मावलम्बीले पनि आ-आफ्नै रीतिरिवाज र परम्पराअनुसार मनाउँदै आएको पाइन्छ भन्नुभएको छ ।
राष्ट्रपति डा यादवले जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधताका बीचमा पनि समाजलाई एकताको सूत्रमा बाँधी सम्पूर्ण नेपालीलाई राष्ट्र निर्माणमा अग्रसर हुन यस पर्वले ऊर्जा प्रदान गर्ने छ भन्ने मैले विश्वास लिएको छु भन्नुभएको छ ।
त्यसैगरी नेकपा -एमाले)का अध्यक्ष झलनाथ खनालले नेपालका आदिवासी थारु समुदायले हर्षोल्लासपूर्वक मनाउने माघी पर्वको विशेष अवसरमा देशभित्र र बाहिर रहेका थारु समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले माघे सङ्क्रान्तिलाई पर्वका रुपमा मनाउने मगर समुदाय तथा अन्य जनसमुदायमा समेत सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष खनालले आज शुभकामना सन्देश प्रकाशित गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन हरेक तह र तप्काका नेपालीहरूले सदियौँदेखि मनाउँदै आएका मौलिक चाडपर्व अझ हर्षोल्लासका साथ मनाउने परम्परा बसाल्न आवश्यक छ भन्नुभएको छ ।
उहाँले देशको प्रमुख कार्यसूचीको रुपमा रहेको शान्ति र संविधान निर्माण राष्ट्रिय सहमतिबाट मात्र पूरा गर्न सकिने तथ्य घामजस्तै छर्लङ्ग छ भन्दै सन्देशमा हाम्राबीचमा रहेका विविध मतभिन्नतालाई बिर्सेर सहमतिको साझा बिन्दुमा पुग्न यस पर्वले सबैलाई प्रेरणा देओस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
त्यस्तै नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले थारु जातिले विशेष पर्वका रुपमा मनाउँदै आएको माघीको सुखद् अवसरमा सबैमा सुख, शान्ति र समृद्घकिो कामना गर्नुभएको छ ।
सभापति कोइरालाले आज एक शुभकामना सन्देश दिँदै प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाडपर्वको बेग्लै विशेषता रहेका तथा एकले अर्काका यी विषयलाई आदर र सम्मान गर्ने आफ्नै विशिष्ट परम्परा रहेको बताउनुभएको छ ।
सन्देशमा उहाँले देशमा लोकतान्त्रिक परिपाटी कायम भएपछि सरकारीस्तरबाट पनि यी सबैलाई सांस्कृतिक धरोहरको रुपमा सम्बर्द्घन गर्न तत्परता देखाइएको छ भन्नुभएको छ ।
सभापति कोइरालाले सन्देशमा तराईका आदिवासी थारु जातिले धेरै पहिलेदेखि त्यहाँका अनेक कठिनाई एवम् औलो, कालाजारजस्ता ब्याधिको सामना गर्दै तराईलाई शस्यस्यामल भूमिमा परिणत गर्ने यी जातिको परिश्रम र योगदानको हार्दिक सराहना गर्नुभएको उल्लेख छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें