१३ सय नेपाली झन् जोखिममा
काठमाडौ, फाल्गुन १३ - लिबियाको आन्दोलनग्रस्त क्षेत्रमा रहेका झन्डै १३ सय नेपाली कामदारलाई उद्धार व्यवस्था नहुँदा उनीहरूको स्थिति झन् जोखिमपूर्ण बन्दै गइरहेको छ । आन्दोलनग्रस्त क्षेत्रहरू त्रिपोली, बेंगाजी, घाट र सिर्डमा रहेका नेपालीहरू जोखिमपूर्ण अवस्थामा कम्पनीले उपलब्ध गराएको क्याम्पभित्र बसिरहेका छन् । श्रम मन्त्रालयका अनुसार त्रिपोलीमा दुई सय ९१, बेंगाजीमा एक सय ९७, घाटमा ८ सय र सिर्डमा २८ जना नेपाली कामदार छन् ।
डेर्नाबाट हिँडेका ५ सय ५२ जना नेपालीलाई इजिप्टस्थित दूतावासले जिम्मा लिएको छ । उनीहरू कार्यरत कोरियन कम्पनी वन कन्ट्रक्सनले बुधबार मध्यराति ट्रकमा राखेर इजिप्टको बोर्डर स्लोनमा पुर्याएको थियो । इजिप्टको कायरोस्थित नेपाली दूतावासका प्रथम सचिव तीर्थ अर्यालले बिहान सात बजे उनीहरूको जिम्मा लिएका थिए । 'सबैजना निकै खुसी छन् । उनीहरूमध्ये बिरामी अवस्थामा रहेकाको उपचार भइरहेको छ,' दिउँसो उनले भने ।
वन कम्पनीले स्वदेशसम्म पठाउने जिम्मा लिए पनि बोर्डरमा ल्याएपछि सम्पर्कबाहिर बसेको दूतावासले जनाएको छ । 'नेपालीलाई स्वदेशसम्म पुुर्याउने जिम्मा लिएको थियो,' राजदूत श्यामलाल तपदारले कान्तिपुरलाई फोनमा भने, 'तर बीचमै छाडिदिएर कम्पनीका अधिकारीहरू सम्पर्कमा आएका छैनन् ।'
कामदारलाई अलपत्र छाडिदिएपछि सरकारले खाने-बस्ने व्यवस्था गर्न तत्काल ३० हजार अमेरिकी डलर पठाउने निर्णय गरेपछि दूतावासले कामदार जिम्मा लिएको हो । राति १० बजेसम्म उनीहरू बोर्डरमै थिए ।
'उनीहरूलाई कायरो वा अलेक्सजेन्डरिया ल्याउने विषयमा छलफल हुँदै छ,' राजदूत तपदारले भने, 'कायरोभन्दा अलेक्सजेन्डरिया नजिक र सस्तो छ ।' सीमाबाट राजधानी कायरो करिब आठ सय किलोमिटर र अलेक्सजेन्डरिया तीन सय किलोमिटर टाढा पर्छ । सरकारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा राखिएको कामदारको कोषबाट रकम पठाउन लागेको हो ।
आन्दोलनग्रस्त क्षेत्रहरूबाट उद्धार गर्न बाँकी कामदारलाई खाद्यान्न र पानीको अभाव छ । 'उद्धार नहुने समय दिनप्रतिदिन लम्बिदै जाँदा दैनिक जीवन समेत निकै कष्टकर बन्दै गइरहेको छ,' बेंगाजीको राम्को कम्पनीको क्याम्पमा बसिरहेका ललितपुरका उद्धव कठायतले कान्तिपुरसँग भने, 'पाँच दिनदेखि सुत्न सकिरहेको छैन । स्थिति निकै तनावपूर्ण छ । कम्पनीका अधिकारीहरू कोही छैनन् । खाद्यान्न अभाव भएको पनि पाँच दिन भइसक्यो ।'
बेंगाजी पूरै आन्दोलनकारीको कब्जामा छ भने सिर्डमा सरकार समर्थक र विरोधीबीच भिडन्तको सम्भावना छ । राजधानी त्रिपोलीमा पनि सुरक्षा अवस्था निकै नाजुक छ । 'जोसँग पनि हतियार भएको देखिन्छ, लुटपाटको निकै डर छ,' त्रिपोलीमा रहेका धनुषाका अजय झाले भने, 'हामीलाई छिटोभन्दा छिटो उद्धार गरियोस् ।'
राजदूत तपदारका अनुसार जोखिममा परेका बाँकी कामदारहरूसँग छिटफुट सम्पर्क भइरहेको छ । उनले त्यहाँ पुग्ने अवस्था नभएकाले इजिप्ट वा ट्युनिसियामा पुग्न अनुरोध गरिएको बताए । 'लिविया दिनप्रतिदिन जोखिमपूर्ण बन्दै छ,' उनले भने, 'त्यहाँ कर्मचारी पुग्न सक्ने अवस्था छैन ।
इजिप्टसम्म आउनेलाई प्रवेशको व्यवस्था मिलाइएको छ ।'
राजदूतले अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगबिना उद्धार सम्भव नभएको बताए । यसकै आधारमा श्रम मन्त्रालयमा बसेको बैठकले उद्धारमा अन्तर्राष्ट्रिय समुदायको संलग्नता खोज्ने निर्णय गरेको छ । मानव अधिकारवादीहरूले कामदारको उद्धारमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । 'सरकार गम्भीर देखिएको छैन, कामदार उद्धार गर्न अझै लिवियाली भूमिमा सरकारका प्रतिनिधि पुगेका छैनन् । उद्धार सामग्री लिएर नगएसम्म हामी सरकार जिम्मेवार भएको मान्दैनौं,' नेपाल मानवअधिकार संगठनका अध्यक्ष सुदीप पाठकले भने, 'परराष्ट्रले क्षमता बढाई आफ्ना नागरिक बचाउन मित्रराष्ट्रसँग समन्वय गरेर अगाडि बढ्नु आवश्यक छ ।'
बाँकी कामदार उद्धारको विषयमा दबाब दिन पीडित परिवार र संगठनले परराष्ट्र मन्त्रालयमा धर्ना दिनुका साथै परराष्ट्रसचिवलाई ज्ञापनपत्र बुझाएका छन् । परराष्ट्रसचिव मदन भट्टराईले बाँकी कामदारको उद्धार गर्न मन्त्रिपरिषद्, श्रम र दूतावाससँग समन्वय भइरहेको बताए । 'कामदारको उद्धारको विषयमा मित्रराष्ट्र बंगलादेश, भारत र पाकिस्तानसँग सम्पर्क गरिरहेका छौं,' उनले भने, 'तत्काल लिबिया छोड्न चाहनेलाई एक्जिट भिसाबिना आउन दिन अनुरोध गरिएको छ ।' कामदारको उद्धारका लागि गएका वैदेशिक रोजगार व्यवसायी संघ र फरेन इम्प्लोइमेन्ट एसोसिएसनका तर्फबाट गएका टोली इजिप्ट पुगेको छ । त्यहाँ ८ म्यानपावर कम्पनीले कामदार पठाएका छन् । ती मध्ये सपोर्ट ह्युुमन रिसोर्स म्यानेजमेन्टले सबै कामदार ल्याइसकेको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें