नेपाली पत्रकारलाई पहिलोपल्ट अमेरिकी मान्यता
आश्विन २२अमेरिकी सरकारको वैदेशिक संचार केन्द्रले पत्रकार किशोर पन्थी र सूर्य थापालाई अमेरिकामा बसेर पत्रकारिता गर्ने विदेशी पत्रकारको मान्यता दिएको छ । वैदेशिक संचार केन्द्रले नेपाली पत्रकारलाई यस्तो मान्यता दिएको यो नै पहिलोपल्ट हो । यसअघि कुनै पनि नेपाली पत्रकारले वैदेशिक संचारकेन्द्रबाट सदस्यता पाएका थिएनन् ।
पन्थी र थापा बाहेक अमेरिकामा रहेर नेपालको संचारमाध्यमका लागि पत्रकारिता गर्न केन्द्रबाट विदेशी पत्रकारको मान्यता पाएका नेपाली पत्रकार कोही पनि नभएको केन्द्रले जानकारी दिएको छ । नेपालमा पेशागत असुरक्षा महसुस गर्दै एबीसी टेलिभिजनमा कार्यरत गुल्मी अर्खले गाविस सेउघाका किशोर पन्थी र सिर्सेनीका सूर्य थापा ६ महिनाअगाडि अमेरिका गएका थिए ।
केन्द्रमा पत्रकारको रेकर्ड हेर्ने मेरी टेर्नसले भनिन् –“यसअघि हामीले अमेरिकामा विदेशी पत्रकारका रुपमा बसेर रिपोर्टिङ गर्ने कुनै पनि नेपाली पत्रकार भेटेका थिएनौं, पूरै अमेरिकाको रेकर्ड हेर्दा पनि पन्थी र थापाबाहेक अरु कोही देखिएन । ”
अमेरिकामा कानुनी रुपमा बसोबास गरिरहेका, अमेरिकामा रहेर विदेशी संचारमाध्यममा निरन्तर काम गरिरहेका, “आई” भिसाको स्टाटसमा अमेरिकामा रहेका, सम्बन्धित देशको कन्सुलेटको कार्यालयबाट समेत पत्रकारको मान्यता पाएका लगायतका आधा दर्जन मापदण्ड पूरा गरेका पत्रकारलाई मात्र केन्द्रले अमेरिकामा बसोबास गर्ने विदेशी पत्रकारको मान्यता दिने गरेको छ । केन्द्रको सदस्यता प्राप्त गरेपछि कुनै पनि विदेशी पत्रकारलाई अमेरिकामा बसेर पत्रकारिता गर्न सहज हुने केन्द्रका अधिकारी मार्क थोर्नले जानकारी दिएका छन् ।
मेरिकाको न्युयोर्क र वासिंटन डिसीमा मुख्य कार्यालय रहेको केन्द्रले अमेरिकाका समाचार र अमेरिकी नीतिलाई विदेशी संचारमाध्यममा सही ढंगले संप्रेशण गर्नका लागि विदेशी पत्रकारलाई सहयोग गर्दै आएको छ । केन्द्रका अनुसार पत्रकार पन्थी र थापालाई सत्य, सन्तुलित र गहिरो समाचार सम्प्रेशणका लागि अमेरिकाका आधिकारिक सुचनाका श्रोतहरुसम्म सिधा पहुच स्थापनाका लागि केन्द्रले भरपूर सहयोग समेत गर्नेछ ।
त्यो बाहेक केन्द्रमार्फत पत्रकार पन्थी र थापाले अमेरिकाका विभिन्न भागमा हुने संचारसम्बन्धी सरकारी सेमिनार, गोष्ठी र तालिममा पनि सहभागिता जनाउन पाउनेछन् । केन्द्रले अमेरिकामा हुने कार्यक्रमहरुको अद्यावधिक आधिकारिक जानकारी पनि उनीहरुलाई गराउने छ । त्यो बाहेक अमेरिकामा रहेर पत्रकारिता गर्दा कुनै समस्या परेमा पनि केन्द्रले सहयोग गर्ने थोर्नको भनाई छ ।
रेकर्ड अनुसार अमेरिकी सरकारको वैदेशिक संचार केन्द्रबाट विदेशी पत्रकारको मान्यता पाएर अमेरिकाबाट पत्रकारिता गर्ने पत्रकारहरुको संख्या झण्डै चारहजार रहेको छ भने न्यूयोर्कमा मात्र यस्ता पत्रकारहरु १५ सय भन्दा धेरै छन् । चीनियापत्रकारहरुको संख्या उल्लेख्य रहेपनि भारतीय पत्रकारहरु भने झण्डै दर्जनको हाराहारीमा मात्र रहेका छन् । नेपालबाट अधिकांश पत्रकारहरु संचारमाध्यमका सदस्यहरुलाई मात्र दिइने आई भिसामा नभई पर्यटक भिसामा अमेरिका छिर्ने भएकाले उनीहरुलाई अमेरिकी सरकारको वैदेशिक संचार केन्द्रले विदेशी पत्रकारको मान्यता नदिएको हो ।
Tara Bhusal »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें