शक्तिखोरमा जे देखियो:-
चितवन, माघ ८ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफ्ना सेनाका लडाकुलाई विशेष समितिमातहत घोषणा गर्ने दिन शनिबार युद्ध हारेको भावमा निकै उदास देखिएका थिए । ठीकविपरीत प्रधानमन्त्री माधवकुमार नेपाललगायतका सत्तारूढ दलका केही नेता भने विजयी मुद्रामा प्रसन्न थिए । माओवादी सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनालका अनुसार अध्यक्ष दाहाल कमलो मनको भएकाले आफ्ना सेनाको स्वामित्व हस्तान्तरणप्रति सायद उनी भावुक बनेका थिए । त्यसैले सायद दाहालले आफ्नो स्वभावविपरीत सात मिनेट छोटो र लिखित मन्तव्य दिएको यो पहिलोपटक थियो । स्रोतका अनुसार बिहान कार्यक्रम आयोजना हुनुअघि लडाकुका कमान्डरसँगको अनौपचारिक अन्तक्रिर्यामा केही मतान्तर भएको थियो । लडाकु कमान्डरहरूले विशेष समितिमातहत गइसकेपछि के हुने भन्ने टुंगो नलागी हतारिएर घोषणा गरेको भन्दै आपत्ति जनाएका थिए । 'अध्यक्षले विदेशीसामु गरेको प्रतिबद्धता, आन्तरिक राजनीतिक कारण र अन्तरिम संविधान तथा विगतका शान्तिलगायतका सम्झौताका कारण समितिमातहत लैजानु आवश्यक भएको बताउनुभयो,' स्रोतले भन्यो, 'तर केही साथीहरूले सत्तामा बार्गेनिङका लागि समितिलाई बुझाउन हतार गरेको भनेर आलोचना गरे ।'अध्यक्ष दाहालसँग सैनिक नेतृत्वमा रहेका उनी पक्षधर नेताहरूले समेत असन्तुष्टि जनाएका थिए । त्यसको प्रभाव कार्यक्रममा पनि देखियो, दाहाल र माओवादी सेनाका कमान्डर नन्दकिशोर पुनको अभिव्यक्तिमा एकरूपता थिएन । पुनले समायोजन सम्पन्न भई नयाँ संरचना नबनेसम्म चेन अफ कमान्ड नतोडिने धारणा राखे भने दाहाल यसमा मौन बसे । घोषणा सभामा राष्ट्रिय झन्डोत्तोलन गरेर माओवादी सेनाका लडाकु विशेष समितिअन्तर्गत आएको घोषणा गर्दा प्रधानमन्त्री नेपाल विजयी भावमा मुस्कुराएका थिए । त्यसपछि प्रधानमन्त्री र माओवादी अध्यक्ष दाहालले संयुक्त रूपमा बेलुन उडाए । अनि लडाकुले राष्ट्रिय गीत गाए र मार्चपास सुरु गरे । लडाकुको मार्चपास हेरिरहँदा दाहालको भावुकता ह्वात्तै बढेको थियो, उनी चश्मामुनिबाट औंला घुसाएर आँखा पुछिरहेका थिए । ठीकविपरीत दाहालको नजिकै बसेका प्रधानमन्त्री नेपाल र नेपाली कांग्रेसका सभापति सुशील कोइराला माओवादी लडाकुको कलाकौशल, सांस्कृतिक कार्यक्रम र परेडको मोबाइलबाट भिडियो र फोटो लिन व्यस्त थिए । यसअघि माओवादी शिविरका सबै समारोहमा देखिने माक्र्स, एङगेल्स, लेनिन, माओत्सेतुङ, दाहाललगायतको फोटो हटाइएको थियो । यतिसम्म कि माओवादी पार्टीको झन्डासमेत कतै देखिएन, लडाकुको झन्डामात्र थिए । कतिपयले 'कम्युनिस्ट पार्टीको नभई सरकारी समारोहको झल्को दिएको' भन्ने टिप्पणी गरेका थिए । हुन पनि मञ्चमा आसीन अधिकांश 'सत्तावाल' नै थिए । लडाकुहरू टिप्पणी गरिरहेका थिए, 'अब लालसलाम भन्ने दिन गए । आजबाट कि सलाम, कि जय नेपाल हुन्छ ।'कमान्डर पुनले पनि अतिथिको आसन लिने क्रममा मुठ्ठी कसेनन्, हात हल्लाए । उनको ठीकअघि प्रधानसेनापति छत्रमानसिंह गुरुङले त्यही शैलीमा अभिवादन गरेका थिए । जबकि, प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी र सशस्त्र महानिरीक्षक सनत बस्नेतले सलाम ठोकेका थिए । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्टले नमस्ते गरेका थिए । कार्यक्रम सञ्चालक वर्षमान पुनले विदेशि कूटनीतिक नियोगका प्रमुखहरूलाई आसन ग्रहण गराउन बिर्सेपछि अध्यक्ष दाहालले प्रधानमन्त्री नेपाल र उनले गृहमन्त्रीलाई अह्राएका थिए । त्यसपछि गृहमन्त्री रावलले पुनको छेउमै पुगेर विदेशी अतिथिको नाम दिएका थिए । नाममा अस्पष्टता आउँदा पुनलाई रावलले सघाएका थिए । पुनले हतारमा कार्यक्रम तयारी गर्दा छुटेको भन्दै कार्यक्रम आधा सकिँदासम्म पनि अतिथिलाई आसन ग्रहण गराइरहेका थिए । प्रधानमन्त्रीलगायत सबै अतिथिले पालैपालो लाइनमा बसेर शिविरमै खाना खाए, केही विदेशी कूटनीतिज्ञले नेपालीमै 'खाना मीठो छ' भनेर प्रतिक्रिया दिएका थिए । सधैं धुलाम्मे हुने जुटपानीको सडक शनिबार पानी हालेर सफा पारिएको थियो । शक्तिखोर शिविरसम्म पुग्ने जुटपानी गाउँको बाटोको दायाँबायाँका रूख, बिजुलीका पोलहरू, पर्खालमा पीएलए -माओवादी सेना) लेखेका झन्डाले राताम्मे देखिन्थे । मञ्च बनाइएको लडाकु खेलमैदानलाई ध्वजा पताकाले रंगीबिरंगी पारिएको थियो । मूलगेटदेखि मञ्चसम्म पुग्ने बाटोभरि लडाकुहरूले सजावट आकर्षक पारेका थिए । शनिबार शक्तिखोर शिविरमा विशेष समितिमातहत लडाकु ल्याउन आयोजित समारोहलाई ३ दिनको मिहिनेतमा लडाकुहरूले भव्य सजाएका थिए । 'हतार-हतारमा व्यवस्थापन गर्नुपर्यो,' डिभिजनका सहकमान्डर उदयबहादुर चलाउनेले भने, '३ दिनको प्रयासमा जतिसक्दो राम्रो व्यवस्थापन गर्ने कोसिस गरेका हौं ।'व्यवस्थापनको अहिलेसम्मको सम्पूर्ण खर्च तेस्रो डिभिजन शिविरले गरेको छ । त्यहाँ करिब ७ सय अतिथिले खाना खाएका थिए । अहिलेसम्म यो खर्च हामीले नै गरेका हौं,' शिविरका सञ्चार प्रमुख खिमबहादुर बुढाथोकीले भने, 'सरकारले कहिले दिने हो, थाहा छैन ।' कति खर्च लाग्यो यकिन हिसाब निकाल्न बाँकी रहेको उनले बताए । सरकारका तर्फबाट यातायात प्रबन्ध मात्र मिलाइएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जनाएको छ । हेलिकप्टरलगायत सवारी साधन व्यवस्था गृह मन्त्रालयबाट भएको र शिविरले गर्ने खर्चको हिसाब पछि पेस गर्नेगरी व्यवस्थापन मिलाइएको स्रोतले जनाएको छ । 'हाललाई सम्पूर्ण खर्च शिविरले गरेको छ, यसमा सरकारको सहयोग छैन,' शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्माले कान्तिपुरसँग भने, 'खर्चको हिसाबकिताब विशेष समितिको सचिवालयमार्फत सरकारले बेहोर्ने छ ।'कार्यक्रम मौसमको खराबीका कारण निर्धारित समयभन्दा ३ घन्टा ढिलो सुरु भएपछि पहिल्यै आएका अतिथि आपसी कुराकानीमा मस्त देखिन्थे । कार्यक्रममा निम्त्याइए पनि तमलोपामा अध्यक्ष महन्थ ठाकुर, सस्कृतिमन्त्री तथा विशेष समिति सदस्य मिनेन्द्र रिजाल र शान्तिमन्त्री रकम चेम्जोङ सरिक भएनन् । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें