उर्लियो भीड
तुलसीराम के सीललितपुर,फाल्गुन २२ -
नेता भट्टराईको पार्थिव शरीरमा श्रद्धाञ्जलि व्यक्त गर्न शनिबार बिहानैदखि बाँडेगाउँमा जम्मा भएको सर्वसाधारणको भीड साँझसम्म उत्तिकै थियो । उनको निधनको खबरले कांग्रेस शीर्षस्थ नेताहरू बिहानै बाँडेगाउँ पुगिसकेका थिए । शवमा माल्यार्पण गर्न पुगेका सभापति सुशील कोइरालाले किसुनजीलाई अटुट सेवा र सुश्रुषा गरेको भन्दै सहयोगी अमिता गिरीलाई धन्यवाद दिए । जवाफमा गिरीले किसुनजीजस्तो त्यागी नेताको सेवा गर्न पाउनु अहोभाग्य भएको भन्दै अब यो सुविधाबाट समेत वञ्चित भएकामा दुःखमनाउ गरिन् । 'मैले अब सेवासुश्रुषा गर्ने बुबा (भट्टराई) जस्तो त्यागी र सरल नेता को नै बाँकी छन् र ?' उनले प्रश्न गरिन् ।
सबैभन्दा पहिले पुगेका उपप्रधानमन्त्री भरतमोहन अधिकारीले किसुनजीको निधनप्रति दुःख व्यक्त गरे । उनीपछि प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा र शान्तिमन्त्री वर्षमान पुन पुगे । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले नेता केपी शर्मा ओलीलगायत पुगेका थिए । बिहान श्रद्धाञ्जलि व्यक्त गर्न स्थानीय बासिन्दाको भीड लागेको थियो । मूल भवनमुनि राखिएको शोकपुस्तिकामा अर्काे लाम थियो । निरक्षर वृद्धवृद्धाले आफ्नो कुरा लेखिदिन आग्रह गरिरहेका देखिन्थे । आश्रममा गाईगोठ बनाउने योजना अझै पूरा भएको थिएन । 'उहाँलाई गाई पाल्ने रहर थियो, त्यही बनाउँदा अस्ति दुर्घटना भएथ्यो,' सुरक्षाकर्मीले भने ।
किसुनजीको पार्थिव शरीरमाथि सेतो चन्दन र अबिर पोखिएको थियो । शिरमा रुद्राक्षको माला थियो । शिर र पाउमुनि बालिएका दीपमुनि सन्तानझैं रहेका सुरक्षाकर्मीले तेल थपिरहेका थिए ।
किसुनजीको सेवासुश्रुषामा खटिएका रवीन्द्रसिं धामीसहितका सुरक्षाकर्मी शवमाथि थुपि्रएको फूलमाला बाहिर झिकेर राख्थे । दुई महिनाअघि हाँसोमजाकसहित भव्य जन्मोत्सव मनाएका किसुनजीलाई शनिबार चिरनिद्रामा देख्दा भावविह्वल नहुने सायदै थिए ।
शोकाकुल उनीहरू शनिबार वरपर गर्दै टोलाएका थिए । किसुनजीको निधन सुनेपछि आश्रममा शुक्रबार राति रुवाबासी चलेको थियो । आश्रममा पुगेका ब्रह्मकुमारी राजयोगका स्वयंसेवकले दिवंगत आत्माको शान्तिका लागि प्रार्थना गरे । तपोवनका ओशो अनुयायी पनि गेरुवस्त्रसहित आश्रम पुगेका थिए । शुभचिन्तकको भीडले बाडेगाउँका सडक धुलाम्मे भएपछि दमकल प्रयोग गरेर पानी छ्यापिएको थियो ।
साँझ छिप्पिँदै गएपछि काठमाडांै वरपरको ग्रामीण भेगबाट आउने शुभचिन्तकको भीड बढेको थियो । 'अन्तिमपटक उहाँको दर्शन गर्न आएको,' धर्मस्थलीका रामवीर बस्नेतले भने, 'महान् नेताको निधनले मन थाम्न सकिनँ ।' अन्तिम श्रद्धाञ्जलिका लागि आउनेका सवारीसाधन मिलाउन ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको
थियो । जाम हरिसिद्धिसम्म पुगेको
थियो । बाडेगाउँ स्वास्थ्य केन्द्रको प्रांगण सवारीसाधनले भरिभराउ थियो । स्थानीय बासिन्दा मलिन अनुहारले आउनेजानेको चहलपहल हेर्दै बसेका थिए । शुक्रबार राति नर्भिकमा निधन भएपछि किसुनजीको शवलाई राति स्कर्टिङ गरेर आश्रम पुर्याइएको थियो । खाटमा राखिएको शवमाथि बिहानपख फलामका पोल गाडेर पाल बनाइएको थियो । घाम चर्कंदै गएपछि सुरक्षाकर्मीले पार्थिव शरीरमा छाता ओढाएका थिए ।
किसुनजीको सेवामा सक्रिय अमिता गिरी भित्रबाहिर गर्दै अन्तिम संस्कारको व्यवस्थापनमा जुटिरहेकी थिइन् । आर्यघाट व्यवस्थापनदेखि शवयात्राको रुट व्यवस्थापनका लागि उनी निरन्तर फोनमा हुन्थिन् । आएका शुभचिन्तक उनलाई भेटेर समवेदना दिँदा रुँदै
थिए । हरदिन बोकेर किसुनजीको सेवासुश्रुषा गर्ने सुरक्षाकर्मी दिनभर सुक्सुकाउँदै शव व्यवस्थापन र माला मिलाइरहेका थिए ।
दुई साताअघि ढिस्को खसेर तीनजना मजदुरको मृत्यु भएपछि केही मजदुरले काम छाडेर गएका छन् । मानसिक चोट पर्न सक्ने भन्दै सहयोगीले अस्पतालमा रहेका भट्टराईलाई आश्रमको दुर्घटनाबारे बताएका थिएनन् । शुक्रबारसम्म जारी रहेको निर्माण शनिबार भने रोकिएको थियो । अतिथिगृह र पुस्तकालयमा आधा टायल छापिएको थियो भने आधा खाली देखिन्थ्यो । सामुन्नेको सन्तानेश्वर डाँडामा घाम अस्ताउँदै गर्दा भीड बिस्तारै पातलिँदै थियो ।
आज के हुन्छ ?
आइतबार पार्टी केन्द्रीय कार्यालय बीपीनगर हँुदै बिहान आठ बजेदेखि दिउँसो दुई बजेसम्म दशरथ रंगशालामा भट्टराईको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ । दिउँसो दुई बजे रंगशालाबाट नयाँसडक गेट, वीर अस्पताल, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, गौशाला हँुदै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।
१३ दिनसम्म शोक मनाउने ललितपुर- कांग्रेसले आफ्ना संस्थापक नेताको निधनमा १३ दिनसम्म शोक मनाउने भएको छ । पार्टी केन्द्रीय कार्य समितिको शनिबार ललितपुर बाडेगाउँमा बसेको आकस्मिक बैठकले १३ दिनसम्म कांग्रेसको झन्डा आधा झुकाउने निर्णय गरेको हो । भट्टराईको अस्तुलाई १३आंै दिन ७५ जिल्लामा पुर्याउने भएको छ । काठमाडौं
लगायत सबै जिल्लामा श्रद्धाञ्जलिसभा आयोजना गरिनेछ । देश, जनता र राष्ट्रका लागि अनवरत समर्पित भट्टराईको निधनले राष्ट्र्रलाई
अपूरणीय क्षति पुगेको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।
चैत २ गते देशभर श्रद्धाञ्जलिसभा गर्ने, शनिबारदेखि चैत २ गतेसम्म पार्टी केन्द्रीय कार्यालय र देशभरका पार्टी कार्यालय बन्द गरी औपचारिक कार्यक्रम नगर्ने भएको छ । केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौं, भक्तपुर र ललितपुरको सहभागितामा चैत २ गते दिउँसो १ बजे खुलामञ्चमा संयुक्त श्रद्धाञ्जलिसभा गर्ने भएको छ । अन्य जिल्लामा पनि यही दिन सभा गर्ने कांग्रेसले जनाएको छ । देशविदेशमा रहेका सम्पूर्ण कार्यालयमा शोकपुस्तिका राख्ने र १३ औं दिन पचहत्तरै जिल्लामा अन्तिम संस्कारपछिको भष्म प्रवाह गरिनेछ । भट्टराईको अन्त्येष्टिपूर्व अन्तिम श्रद्धाञ्जलिका लागि पार्थिव शरीरलाई आइतबार बिहान ८ बजे पार्टी कार्यालय सानेपा लगिने भएको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें