लिबियामा २६३ नेपालीको बिचल्ली
काठमाडौ, फाल्गुन २० -
आन्दोलनग्रस्त लिबियाको राजधानी त्रिपोलीबाट २ सय ६३ कामदारलाई उद्धार गर्न नसकिने अवस्था सिर्जना भएको छ ।इजिप्टको कायरोस्थित नेपाली दूतावासका अनुसार त्रिपोलीबाट कामदार बाहिर आउन नसक्ने स्थिति भएकाले त्यहाँ रहेकाहरूको उद्धार हुन नसकिने भएको हो । ''त्यहाँबाट कामदार बाहिर ल्याउन हरप्रयास जारी छ,' लिबियाका लागि नेपाली राजदूत श्यामलाल तवदारले कान्तिपुरसँग भने, 'कामदार त्रिपोलीबाट बाहिरिनसक्ने स्थिति छैन, गम्भीर स्थिति सिर्जना भएको छ ।'
उनीहरूलाई उद्धार गर्न इजिप्ट पुगेका व्यवसायीले पनि 'विशेष व्यवस्था नभए' उद्धार असम्भव भएको बताए । त्रिपोली इजिप्ट बोर्डरबाट झन्डै २ हजार ८ सय किलोमिटर टाढा छ । दूतावासले ती कामदारलाई ल्याउन प्लेन चार्टरको विकल्प नरहेको भन्दै परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ । तर मन्त्रालयले यसबारे केही बताएको छैन । 'उनीहरूलाई स्वदेश ल्याउन विमान चार्टर एकमात्र विकल्प हो,' राजदूत तवदारले भने ।
भारतीय दूतावाससँग उसका नागरिकसँगै नेपालीलाई उद्धार गर्न नेपाली दूतावासले अनुरोध गरे पनि भारतीय दूतावासले नेपाली कामदारको उद्धार नगर्ने भएको छ । भारतीय दूतावासले आफ्ना नागरिक सकिएपछि मात्रै नेपालीलाई प्राथमिकता दिने बताएको छ । उद्धारका निम्ति भारतीय दूतावासमा आश्रय लिन पुगेका एक महिला र २४ पुरुष नेपाली कामदारलाई दूतावासका अधिकारीले लैजान नसक्ने भन्दै बाहिर निकालिदिएका छन् ।
'इजिप्ट दूतावासले स्वदेश जान भारतीय दूतावासमा सम्पर्क राख्नु भनेर यहाँ आएकी थिएँ, उनीहरूले नसक्ने भन्दै बाहिर पठाइदिएका अरू नेपाली दाजुभाइसँग मेरो भेट भयो', त्रिपोलीस्थित अलफले युनिभर्सिटीमा पढाइरहेकी नीता पोखरेलले भनिन्, 'उनीहरूलाई खान र बस्ने ठाउँ छैन । उनीहरूका मालिकसँग कुराकानी गरेपछि मालिक हेर्न आएको
थियो । उसले खान र बस्नका लागि लैजाने बताउँदै गाडी लिन गएको छ । म पनि उसलाई पर्खिबसेकी छु ।'
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद अर्यालले त्रिपोली, सिर्ड र मिस्रौटाका २ सय ६३ नेपालीलाई उद्धार गर्न नसकिने अवस्थ्ाा भएको बताए । 'हामी त्रिपोलीबाट कामदारलाई उद्धार गर्न नसक्ने हालतमा पुग्यौं,' इजिप्ट पुगेका प्याराडाइज म्यानपावरका प्रमुख नवराज केसीले भने, 'इजिप्ट बोर्डर वा ट्युनिसिया बोर्डरमा कामदार जानसक्ने अवस्थामा छैनन्, सरकारले छिटोभन्दा छिटो नेपालबाट प्रक्रियालाई अगाडि बढाउनुपर्यो ।'
त्रिपोलीको अलमगरबिया कम्पनीमा कार्यरत २४ कामदारले सरकारले उद्धार प्रक्रियामा गरेको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गरे । 'हामी २० दिनदेखि यहाँ फसिरहेका छौं, पटकपटक सुरक्षित ठाउँमा सारियोस् भनेर अनुनयविनय गरिरहेका छौं,' त्रिपोली
विमानस्थल नजिक क्याम्पमा बसेका सूर्यमोहन जोसीले बिहीबार साँझ भने, 'सरकारले हाम्रो कुरा सुनिरहेको छैन ।' त्यहीं फसिरहेका गोरखाका निरज गुरुङकी पत्नी दिलमायाले भनिन्, 'हामीले पटकपटक ध्यानाकर्षण जनाइरहेका छौं तर हाम्रो मान्छे आउने कुनै टुंगो छैन, हामीलाई निकै असैह्य भइरहेको छ ।'
सरकारले यसबारे बिहीबार साँझ गम्भीर रूपमा छलफल गरेको थियो । श्रम र परराष्ट्रका अधिकारीहरू सम्मिलित बैठकले एयरलिफ्टबाट ल्याउनेलाई पहिलो प्राथमिकतामा राखेको छ । 'उनीहरूलाई एयरलिफ्टबाट ल्याउने आवश्यक कार्य गर्न दूतावासलाई भनेका छौं,' एक अधिकारीले भने, 'त्यो नभए अन्य विकल्प खोजिनेछ ।'
इजिप्ट बोर्डरमा थप १३२ कामदार आइपुगे लिबियाको बेंघाजीबाट इजिप्ट बोर्डरमा १ सय ३२ कामदार आइपुगेका छन् भने घाट क्षेत्रका ७ सय ५० कामदारलाई सुडानको खार्तुम पुर्याइएको छ ।
राजदूत तवदारका अनुसार बोर्डरमा आएका कामदारलाई लिन दूतावासका लोकबहादुर छेत्री र व्यवसायीलाई पठाइएको छ । बोर्डरमा ६८, ४६ र १८ जनाको छुट्टा छुट्टै टोली आइपुगेका हुन् । उनीहरू प्यारडाइज, जस्मिन र पीस इन्टरनेसनलबाट गएका थिए ।
उनीहरूलाई अलेक्सजेन्डेरियाबाट स्वदेश पठाइनेछ । दूतावासले ट्युनिसिया पुगेका कामदारलाई उद्धार गर्न प्रथम सचिव तीर्थ अर्याललाई त्यता पठाउने तयारी भइरहेको तवदारले बताए । त्यहाँ २४ जना पुगेका छन् । हालसम्म ६ सय ७५ स्वदेश आइपुगेका छन् ।
चार मुलुक स्थगन
सरकारले कामदार जोखिम रहेको चार मुलुकमा कामदार नपठाउने भन्दै स्थगन गरेको छ । श्रम मन्त्रालयले स्थितिको मूल्यांकन गरी लिबिया, ओमन, बहराइन र यमनका लागि स्थगन गर्ने निर्णय गरेको हो । त्यहाँ अहिले आन्दोलन चलिरहेको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें